मन्त्री अर्यालले भूमि सुधार घोषणा गर्दै

150

लालबन्दी – संघीय सरकारकी भूमि व्यवस्था, सहकारी एवं गरीबी निवारण मन्त्री पद्मा अर्याल आईतबार सर्लाही आउँदै छिन् ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य समेत रहेकी मन्त्री अर्याल नेकपा सर्लाहीले भोली बरहथवामा आयोजना गर्न लागेको भूमि सम्बन्धी समस्या र तिनका समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आउन लागेकी हुन् । नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा शनिबार हरिवनमा बसेको जिल्ला कमिटीको वैठकले मन्त्री अर्यालले सम्बोधन गर्ने कार्यक्रम भव्य रुपमा सफल बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष रेवती पन्तद्वारा हस्ताक्षरीत विज्ञप्ती अनुसार कार्यक्रम आईतबार मध्यान्ह बरहथवा नगरपालिका वडा नम्बर ५ मा रहेको उद्योग वाणिज्य संघ बरहथवाको सभाहलमा हुने छ । कार्यक्रममा जिल्लामा रहेका भूमि सम्बन्धी समस्याहरुका विषयमा घनीभूत छलफल हुने नेकपाले जनाएको छ । सो अवसरमा एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले केही दिन अघि सर्लाहीको हजरियामा बर्षौ अघि देखि भोगचलन गर्दै आएको किसानको जग्गा अनाधिकृत रुपमा स्वामित्व परिवर्तन भएको लिखित खारेज घोषणा समेत गर्ने नेकपाले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

सिमरा एयरपोर्ट हुँदै मन्त्री अर्याल बिहान साँढे ११ बजे सिताप्यालेस होटलमा खाना खान आईपुग्ने र सिधै बरहथवा जाने कार्यक्रम रहेको बताईएको छ । मन्त्री अर्याल दिउँसै काठमाडौं फर्कने कार्यक्रम रहेको बरहथवा मालपोत कार्यालय स्रोतले जनायो ।