लालबन्दी गोल्डकप हुन सकेन

231

लालबन्दी – सर्लाहीको लालबन्दीमा गत वर्षबाट सुरु भएको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष नहुने भएको छ ।

आर्थिक अभावका कारण यो वर्ष प्रतियोगिता आयोजना गर्न नसकिएको लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष उज्वल कार्कीले जानकारी दिए । विदेशीसहित विभिन्न राष्ट्रिय र विभागिय क्लबको सहभागितामा गत वर्ष भव्य रुपमा प्रतियोगिता आयोजना गरिएको थियो । यो वर्ष पनि प्रतियोगिता आयोजना गर्ने सोँच बनाएको तर आर्थिक संकलनमा निकै कठिनाई र नगरपालिकाबाट पर्याप्त बजेट विनियोजन नभएकाले प्रतियोगिता गर्न नसकिएको वडाध्यक्ष कार्कीले बताए ।

लालबन्दी गोल्डकपको पहिलो संस्करण २०७५ साल असारमा आयोजना गरिएको थियो । प्रतियोगिताले निरन्तरता नपाउँदा यहाँका फुटबल खेलप्रेमीले निराशा व्यक्त गरेका छन् । फुटबल प्रशिक्षक अर्जुन चौधरीले स्थानीय ठाउँलाई परिचित गराउन र यहाँका खेलाडीको विकासमा महत्वपूर्ण टेवा पुग्ने राष्ट्रिय स्तरको प्रतियोगिताले निरन्तरता नपाउनु दुःखद भएको बताए । जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका चौधरीले स्थानीय तहले बेवास्ता गर्दा जिल्लामा ठूला किसिमका खेलकुद गतिविधी हुन नसकेको बताए ।