राजघाटको खाल्टेमा पशु सेवा केन्द्र स्थापना

233

राजघाट – सर्लाहीको बागमती नगरपालिका–६, राजघाट खाल्टेमा पशु सेवा केन्द्रको स्थापना गरिएको छ ।

नगरपालिकाका प्रमुख भरतकुमार थापाले सोमबार एक कार्यक्रमका बीच पशु सेवा केन्द्रको उद्घाटन गरेका ह्न् । साबिक राजघाट र शङ्कपुर क्षेत्रका पशुपालक किसानलाई सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बागमती नगरपालिकाको पशु सेवा शाखाका संयोजक एवं पशु विकास अधिकृत राजकुमार थापाले जानकारी दिए । बागमतीदेखि पशु प्राविधिक पठाएर सेवा दिन टाढा भएपछि किसानकै माग अनुसार राजघाटमा सेवा केन्द्र स्थापना गरिएको बागमती नगरपालिकाले जनाएको छ ।

पशु शाखाका संयोजक थापाका अनुसार सेवा केन्द्रमा दुई जना पशु प्राविधिक रहने छन् । पशु सेवा केन्द्र सञ्चालनका लागि स्थानीय मनकारी व्यक्तित्व कृष्ण कार्कीले तीन वर्षसम्मका लागि एउटा ठूलो कोठा उपलब्ध गराएका छन् ।