सर्लाहीमा तरकारीको मूल्य घट्यो : उपभोक्तालाई राहत

216

लालबन्दी – तरकारी उत्पादनमा देशमै ख्याति कमाएको सर्लाहीका बजारमा तरकारीको मूल्य घटेको छ ।

सर्लाहीमै उत्पादन पर्याप्त मात्रामा बजार आउन थालेपछि मूल्य घट्दै गएको व्यापारीले बताएका छन् । जिल्लाका बजारमा अहिले यहीँ उत्पादन भएको काउली, बन्दा, गोलभेंडा, सिमी, भेन्टा, मुला, नयाँआलु जस्ता तरकारी पर्याप्त मात्रामा आइरहेको छ । केही साता अघिसम्म खुद्रामा प्रतिकिलो ८० रुपियाँ सम्ममा बिक्री भएको काउली अहिले प्रतिकिलो ५० रुपियाँमा बिक्री भइरहेको छ ।

यस्तै प्रतिकिलो सय रुपियाँसम्ममा बिक्री भएको गोलभेंडा प्रतिकिलो ५० रुपियाँमा झरेको छ । यसैगरी अरु तरकारीको मूल्य पनि पहिलेको तुलनामा घटेको व्यापारीले बताएका छन् । बन्दा प्रतिकिलो ६० रुपियाँ, भेन्टा प्रतिकिलो ५० रुपियाँ, नयाँ आलु प्रतिकिलो ६० रुपियाँ, मुला प्रतिकिलो ४० रुपियाँमा बिक्री भइरहेको छ । विभिन्न हरियो सागपात र धनियाँको मूल्य पनि घटिरहेको व्यापारीले बताएका छन् ।

सबैतिर महँगिएको प्याजको भाउ भने सर्लाहीमा पनि उस्तै छ । जिल्लामा प्याज प्रतिकिलो एक सय ९० रुपियाँदेखि दुई सय रुपियाँसम्ममा बिक्री भइरहेको छ । सर्लाहीमा प्रमुख बजारहरु लालबन्दी, नवलपुर, हरिवन, बागमती, बरहथवा, बयलवास, मलंगवासहित ग्रामीण भेगमा लाग्ने हाट बजारमा पनि हरियो तरकारीको किनबेच हुने गरेको छ ।