रौतहट २३ जेष्ठ ।
रौतहट क्षेत्र नं. २ को क बाट निर्वाचित प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाले प्रदेश सभा विकास कोषको रकम बाट निर्माण हुन लागेको सडकमा व्यापक अनियमितता भई रहेको स्थानियले बताएका छन् ।
सिन्हाले आफ्नै गृह नगर ईशनाथ नगरपालिकाको औरैयामा निर्माण गराउन लागेको ढलान सडकमा गुणस्तरहिन सामग्री प्रयोग गरि निर्माण गराउन लागेको स्थानियले आरोप लगाएका छन् । प्रदेश सभा सदस्य सिन्हाले ईशनाथ नगरपालिकाको वडा नं. २ स्थित प्रहरी चौकि देखि ट्रान्सर्फमर सम्म जाने बाटोको ढलानका लागी दु्रत गतिमा काम अगाडि बढाएका छन् ।
सो बाटोको बिचमा रहेको पोखरीको छेउमा ढुङ्गाको बार लगाई अनि मात्र सडक ढलान गर्दा सो सडक गुणस्तरीय हुनेमा सिन्हाले आसेपासे लाई राखी बनाएको उपभोत्ता समितिले बाँसको बार लगाई कामचलाउ तरीकाले ढलान गर्न लागेको ईशनाथ नगरपालिकाका नेकपाका नगर कमिटि अध्यक्ष मोहन मेहताले बताएका छन् ।
बाँसको बार लगाई ढलान गर्दा सो सडक एक वर्ष सम्म पनि नरहने मेहताले बताएका छन् । जिल्ला प्राविधिक कार्यालय रौतहटका प्रमुख र प्राविधिकको प्रत्यक्ष संग्लनतामा प्रदेश सभा सदस्य सिन्हाको योजनामा व्यापक अनियमितता भई रहेकोले जिल्ला प्राविधिक कार्यालयका प्रमुख र प्राविधिक लाई कारवाहि गर्न सम्बन्धित निकाय संग मेहताले माग गरेका छन् ।